मिलेमतोमा रक्तचन्दनको तस्करी

माघ १२, २०६९

काभ्रे — अरनिको राजमार्गका चेकपोस्टबाट सहजै छलेर रक्तचन्दन तस्करी भइरहेको छ । राजमार्गका काभ्रेको पूरै र सिन्धुपाल्चोकको एउटा चेकपोस्ट छलेर गएको चन्दन बाह्रबिसे प्रहरीले बरामद गरेको हो ।

काठमाडौंबाट तातोपानी जाँदै गरेको बा१ख ५६०९ नम्बरको मिनी कन्टेनरबाट प्रहरीले २६ गोलिया (४ सय ६९ केजी) चन्दन बरामद गरेको छ । यसको मूल्य चिनियाँ बजारमा ७५ लाखभन्दा बढी पर्छ । त्यहाँ प्रतिकिलो १६ हजारसम्ममा बिक्री हुन्छ । काठमाडौं, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक हुँदै तातोपानी नाकाबाट प्रतिबन्धित रक्तचन्दन चिनियाँ बजार पुग्छ । ‘चीन निकासी हुनै लागेको चन्दन बरामद गरेका छौं,’ बाह्रबिसे प्रहरी कार्यालय प्रमुख विष्णुकुमार लामिछानेले भने, ‘रक्तचन्दन उताबाटै आएको हुन सक्छ ।’ काठमाडौंदेखि तातोपानी पुग्न राजमार्गका राजस्व, भन्सार, प्रहरी, सशस्त्र प्रहरीको १२ पोस्ट पार गर्नुपर्छ ।’यसबारे अनुसन्धान थालिसकेका छौं,’ जिल्ला प्रहरी प्रमुख गीता उप्रेती भन्छिन्, ‘दोषी कसैलाई छाड्दैनौं ।’ तस्करले काभ्रेको २ र सिन्धुपाल्चोकको १ चेकपोस्टमा खटिएका प्रहरीसित मिलेर चन्दन निकासी गर्न लागेको स्रोतले बताएको छ । ‘चेकपोस्टमा खटिएका प्रहरीकै मिलेमतोमा निकासी गर्न लागिएको थियो,’ उक्त स्रोत भन्छ, ‘बरामद रक्तचन्दन काभ्रेकै पाँचखाल क्षेत्रबाट लोड गरिएको हो ।’ पाँचखाल, दोलालघाट र सिन्धुपाल्चोकको बन्देउ चेकपोस्टमा खटिएका सुरक्षाकर्मीले चन्दन देखेनन् ।रक्तचन्दन लोड गरिएको ट्रक बुधबार दिउँसो ४:३० बजे धुलिखेल चेकपोस्टमा दर्ता गरिएको थियो ।

चेकजाँच हुँदा गाडी खाली रहेको उल्लेख छ । त्यहाँबाट १४ किमि परको पाँचखाल चेकपोस्टमा भने उक्त सवारी राति ९:५० मा दर्ता भएको छ । पाँचखाल चेकपोस्टबाट १० किमिको दोलालघाट पोस्टमा भने राति ३:२० मा दर्ता भएको छ । यी सबैमा ट्रक खाली रहेको प्रहरी अभिलेखमा छ । निकासी गर्न नसकी काठमाडौं, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकका विभिन्न ठाउँमा लुकाइएको रक्तचन्दन खासा पुर्‍याउन पछिल्लो समय तस्करहरू लागिपरेको व्यापारिक स्रोतको दाबी छ । ‘लामो समयदेखि गोदाममा थन्क्याएको चन्दन अब खासा नपुर्‍याए खत्तम हुन्छौं,’ स्रोतले भन्यो, ‘त्यसका लागि जुनसुकै मूल्य चुकाउन तयार छौं ।’ चन्दन तस्करीमा सामूहिक लगानी भएकाले करोडौं रुपैयाँ डुबेको र लाइन मिल्न नसकेपछि पोस्टमा खटिएका सुरक्षाकर्मीसित मिलाएरै काम गर्न लागेको स्रोतको भनाइ छ । मध्यक्षेत्रीय प्रहरी प्रमुख डीआईजी यादव अधिकारीले चन्दन तस्करीमा प्रहरी कर्मचारीको मिलेमतो भेटिए तत्कालै कारबाही गरिने बताए ।

 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *